लद्दाखमा भारत र चीनका सेनाबीच भिडन्त, एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु


लेखापढी      २ असार २०७७, मंगलवार १४:४०

लद्दाखमा भारत र चीनका सेनाबीच भिडन्त, एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी, २ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच भएकाे र्हिंसात्मक झडपमा एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो ।

‘गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो ।  जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ,’ भारतीय सेनाको विज्ञप्तिलाई उल्लेख गर्दै एनडिटिभीले लेखेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।  १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने  चिनियाँ सैनिकमा पनि हताहती भएको थियो। १९७५ यता भने दुई देशका सैनिकहरूले एकअर्काको ज्यान लिएका थिएनन्।