असार १ गतेदेखि सरकारले रेडियो र टिभीबाट पढाउने, हेर्नुस् कुन विषय कतिबेला पढ्ने


लेखापढी      ३२ जेष्ठ २०७७, आईतवार १४:३४

असार १ गतेदेखि सरकारले रेडियो र टिभीबाट पढाउने, हेर्नुस् कुन विषय कतिबेला पढ्ने

लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीका लागि सरकारले असार १ गतेदेखि रेडियो तथा टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने बताइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि टिभीमा सुरु हुने रुटिन निकालिसकिएको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु एनटिभी प्लसबाट पढाइ हुने छ । त्यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।

विद्यालय तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको केन्द्रले जनाएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत  रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।

असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्ने तथा रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै स्थानीय एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेका छन् । 

माध्यमिक तह कक्षा ९ र १० का लागि डिसहोम टिभीमार्फत् विषयगत पठनपाठनको व्यवस्था मिलाइएको केन्द्रको भनाइ छ।

विद्यार्थीले यीबाहेक नेटटिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानलबाट पनि पढ्न सक्ने केन्द्रले जनाएको छ।

टिभी/रेडियो नहुनेले के गर्ने?

घरमा टिभी/रेडियो नहुने विद्यार्थी कसरी पठनपाठन क्रियाकलापमा सहभागी हुन्छन् त? यो प्रश्नमा महानिर्देशक थपलियाले भने, ‘सिकाइ सामग्री छापेर विद्यार्थीलाई बाँडिन्छ।’

प्राय: उच्च पहाडी र हिमाली भेगमा इन्टरनेट, टिभी वा रेडियोको पहुँच कम छ। यी भेगका विद्यार्थीलाई पनि वैकल्पिक विधिबाट पठनपाठन गराउन केन्द्रले उपाय सोचेको उनले बताए।

‘वैकल्पिक विधि टिभी, रेडियो पहुँच नभएका विद्यार्थीलाई सिकाइ केन्द्र गठन गरेर स्वयमसेवी वा शिक्षक परिचालन गरी पाठ्यपुस्तक/सिकाइ सामग्री छापेर वितरण गर्ने व्यवस्था मिलाइन्छ,’ थपलियाले भने।