पहिलो फ्लाइटबाट कुवेतका नेपाली काठमाडौं आइपुगे, दोस्रो विमान पनि उड्यो


लेखापढी      २९ जेष्ठ २०७७, बिहीबार १३:००

पहिलो फ्लाइटबाट कुवेतका नेपाली काठमाडौं आइपुगे, दोस्रो विमान पनि उड्यो

२९ जेठ, काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

कुवेतबाट १ सय ४९ जना नेपाली महिला कामदार लिएर जजिरा एयरलाइन्सको दोस्रो जहाज पनि बिहीबार काठमाडौंका लागि उडेको छ ।

कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर जे ९१५४३ जहाज स्थानीय समयअनुसार बिहान ६ बजे उडेको हो । यो उडान ४ घण्टा ४५ मिनेटपछि त्रिभुवन विमानस्थलमा अवतरण हुनेछ । 

कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो । कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । तिनमा पुरुष १ हजार ६ सय ८८ र महिला १ हजार ३ सय ३ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।


Source: News Agency