जोर्ज फ्लोइड: हत्याको दुई हप्तापछी अन्तिम संस्कार; जातीय न्यायको माग


लेखापढी      २८ जेष्ठ २०७७, बुधबार १५:३७

जोर्ज फ्लोइड: हत्याको दुई हप्तापछी अन्तिम संस्कार; जातीय न्यायको माग

प्रहरी हिरासतमा मारिएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ड फ्लोइडको दुई सातापछि अन्तिम संस्कार गरिएको छ । २५ मे का दिन  मारिएका फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ।

मिनियापोलिस प्रहरीका एक प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको घाँटीमा ८ मिनेटभन्दा लामो समयसम्म घुँडाले थिचेका कारण उनको मृत्यु भएको थियो । सो घटनाको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरेर हत्याको आरोपमा मुद्दा दायर गरिएको छ । 

ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिएको छ।

फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानुनहरूमा परिवर्तनका लागि आह्वान गरिन्।

राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत्‌ अन्तिम संस्कारमा सम्बोधन गरेका थिए। उनले भने, "जोर्ज फ्लोइडका लागि न्याय भएमा हामी अमेरिकामा साँच्चिकै जातीय न्यायको बाटोमा हुनेछौँ।"

फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए।

कार्यक्रममा उपस्थित चर्चित नागरिक अधिकारकर्मी रेभेरेन्ड अल शार्पटनले भने, “दास राख्ने मालिकका नातिनातिनाले अहिले विश्वभरि मालिकहरूका शालिक हटाइरहेको म देखिरहेको छु।”

डेमोक्र्याटिक पार्टीका स्थानीय सांसद अल ग्रीनले भने, “जोर्ज फ्लोइड मिल्काउन हुने कुनै वस्तु थिएनन्। यसकारण हामी यहाँ आएका छौँ। उनी अश्वेत हुनु उनको अपराध थियो।”

फ्लोइडप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमवार छ घण्टा उनको शव गिर्जाघरमा राखिएको थियो।