कोरोना भाइरस नेपाल: थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो


लेखापढी      २६ जेष्ठ २०७७, सोमबार १८:४०

कोरोना भाइरस नेपाल: थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन्। थप एकको मृत्यु हुँदा मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । उनीहरूमध्ये चार सय ८८ जना डिस्चार्ज भएका छन् ।

सोमवार पीसीआरबाट ४७६६को परीक्षण गरिएको र आरडीटीबाट ११९४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार सात सय ६६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो । त्यसक्रममा तीन सय १४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म पीसीआर टेस्टको संख्या एक लाख नौ सय ७१ पुगेको छ ।

प्रवक्ता गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


Source: News Agencies and the Ministry of Health and population