न्यूजील्यान्डमा लकडाउन हटाइयाे; सबै प्रतिबन्ध सोमबार मध्यरातदेखि फुकुवा हुँदै


लेखापढी      २६ जेष्ठ २०७७, सोमबार १३:३९

न्यूजील्यान्डमा लकडाउन हटाइयाे; सबै प्रतिबन्ध सोमबार मध्यरातदेखि फुकुवा हुँदै

न्युजिल्याण्डमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण लगाइएका सबै प्रतिबन्ध सोमबार मध्यरातदेखि फुकुवा हुने भएको छ। मध्यरातदेखि कोरोना भाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने त्यहाँकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी हुन्।

त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ।

सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ।

आर्डर्नले ‘न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो’ भनिन् ।

न्युजिल्याण्डमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ। साथै सक्रिय कोरोना भाइरस सङ्क्रमण बाँकी नभएपछि न्युजिल्याण्डले भाइरस जितेको जस्तो देखिएको छ।

न्यूजील्यान्डमा जम्मा १५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।


बिबिसी