प्रतिभा


लेखापढी      २३ जेष्ठ २०७७, शुक्रबार १३:११

प्रतिभा

परापुर्वकालमा एउटा राजाले मन्दिर बनाउने चाहना व्यक्त गरे । उक्त राज्यका राजाले मन्त्रीलाई विश्वभरका उत्कृष्ठ कालिगढहरु, कलाकारहरु, सिल्पकारहरु र मजदुरहरु मन्दिर तयार गर्नका लागि आमन्त्रण गर्न भने र सोही अनुसार आएका व्यक्तित्वहरुले मन्दिर बनाउने काम सुरु गरे । यसै बीचमा एउटा मजदुरले नचाहिने ढुङ्गालाई बाटोमा फालिदिए । बाटोमा फालिएको उक्त ढुङ्गालाई कति यात्रीले छलेर जान्थे भने कति जना ठोक्किएर चोट लागेर लड्दै उक्त ढुङ्गालाई सराप्दै हिड्थे ।

एक दिन एक जना मूर्तिकार त्यही बाटो भएर हिडिरहेका थिए । उनले बाटोमा लडिरहेको ढुङ्गालाई देखे । उनले आफ्नो झोलाबाट औजारहरु निकालेर एउटा सुन्दर आकृतिमा रुपान्तरण गरे । उक्त आकृतिलाई मन्दिर छेउ छोडेर उनी बाटो लागे । उक्त सुन्दर मूर्तिको चर्चा, प्रसंसा देशभरी हुन थाल्यो र राजाले उक्त मूर्ति कसले कहाँ बाट आयो भनेर खोजि गर्न लगाए ।

राजाले उक्त मूर्तिकारलाई यो मूर्ति आफैले बनाएको हो वा कतैबाट ल्याएको हो साँचो कुरा भन्न लगाए । उनले भने “यो ढुङ्गा त धेरै पहिले देखि त्यही बाटोमा नैं थियो, सबैले देखेको भोगेको ढुङ्गा नैं हो त्यो, कतिले त्याे ढुंगाले ठेस लागेर सराप्दै हिड्थे ।”

“मैले त केबल यो ढुङ्गामा लुकेको सुन्दर मुर्तिलाई मात्र बाहिर निकालेर पहिचान मात्र गराएको हुँ । मूर्ति त त्यहि ढुङ्गा मै थियाे ।”

त्यसैले हामी सबै भित्र पनि एउटा महान, सर्बश्रेष्ठ बन्ने सम्भावना रहेको हुन्छ र यसका लागि गुरु, अनुभव र मार्गदर्शनको खाँचो हुन्छ ।