युएई र बर्माबाट नेपालीको भोलिदेखि उद्धार, शुक्रबार करिब ३०० नेपालीलाई स्वदेश ल्याइँदै


लेखापढी      २२ जेष्ठ २०७७, बिहीबार २१:३५

युएई र बर्माबाट नेपालीको भोलिदेखि उद्धार, शुक्रबार करिब ३०० नेपालीलाई स्वदेश ल्याइँदै

युएई । सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल लगिने भएको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (भोलि)बाट उद्धार सुरु गर्दैछ ।

शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ ।

युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ । दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् । 

युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेकाे छ ।  यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल लैजाँदैछ ।