रहेनन् बलिउड अभिनेता ऋषि कपुर


लेखापढी      १८ बैशाख २०७७, बिहीबार ११:२५

रहेनन् बलिउड अभिनेता ऋषि कपुर

मुम्बई — बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।

सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।

बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो । 
 
लेखापढीः एजेन्सीकाे सहयाेगमा