किम जोङ उनबारे पछिल्लो समय विभिन्न खाले समाचार, उन स्वस्थ छन् : दक्षिण कोरिया


लेखापढी      १५ बैशाख २०७७, सोमबार १९:११

किम जोङ उनबारे पछिल्लो समय विभिन्न खाले समाचार, उन स्वस्थ छन् : दक्षिण कोरिया

विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन गम्भीर बिरामी अथवा निधन नै भइसकेको भनेर आशङ्का व्यक्त गरिरहँदा त्यहाँका सञ्चारमाध्यमले उनको अवस्था सामान्य रहेको सङ्केत दिएका छन् ।

उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।

९ वर्षअघि आणविक शक्ति राष्ट्रको बागडोर सम्हालेका ३६ वर्ष हाराहारीका किमलाई के भएको हो? अहिलेसम्म उत्तर कोरियाले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा आइतबार भनेका छन्, ‘हाम्रो स्पष्ट भनाई यो छ कि किम जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।’

गत १५ अप्रिलमा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका सबैभन्दा ठूला नेता मानिने किम इल सुङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि उनको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अड्कलबाजी गरिएको छ।

जापानका केही सञ्चारमाध्यमले किमको मुटुमा स्टेन्ट राख्न खोज्दा उनको ब्रेन डेड भएको खबर छापेका छन्। दक्षिण कोरियाको डेली एनकेले भने मुटुसम्बन्धी शल्यक्रियापछि किम निको भइरहेको जनाएको छ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि गत हप्ता किमले उत्तर कोरियालाई सामान्य रुपमा चलाएको र शंकास्पद गतिविधि नभएको स्पस्ट पारेको थियो। साथै पहिचान नखुलाइ सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले किम वोनसानमा रहेको खुलाएका थिए।

एजेन्सिकाे सहयाेगमा 

(विविसी दैनिक, कान्तिपुर र सेताेपाटी दैनिक)