लकडाउनले सम्झाएको सपना – लकडाउन डायरी


लेखापढी      ११ बैशाख २०७७, बिहीबार ०९:०४

लकडाउनले सम्झाएको सपना – लकडाउन डायरी
लाग्छ लकडाउन पछिको दिनहरु नेटवर्क टिप्न नसकेको रेडियो जस्तै भएको छ । यता बटार्यो झ्यार् उता बटार्यो झ्यार् । दुई चार दिन सुरुवाती ठिक ठाकै बिते । टाढाका आफन्तसँग कुरा गरे, दुई चार पुस्तक पढें, दुई चार आत्मकथा मुभि हेरें तर जब दिन वित्दै गयो, मनमा अनौठो खालको प्रश्न उब्जन थाल्यो । तैंले बालापनमा देखेको सपना अझै पछ्याउदै छस कि उमेर संगै तुहियो तेरो सपना पनि…?
जब यस्ता प्रश्न आफ्नै मनले गर्न थाल्यो, म झसँग भए । 
 
जिन्दगी ठिकै चलिरहेको थियो । युएई, दुबई एउटा सपनाको शहर, म एउटा राम्रो जागिरमा व्यावस्थापक रही दुई वर्ष देखी काम गरिरहेको छु । कमाई राम्रो छ । प्रगतिको नाममा आफूलाई ऐनामा हेरेर मुस्कुराउन सकेको छु, बस, त्यति हो तर समय सधै एकैनास रहेन । मानिसले प्रकृतिमाथि गरेको अधिपत्य प्रकृतिले प्रतिकार गरे जस्तो लाग्छ ।
मानिसले प्रकृतिमाथि गरेको अधिपत्य प्रकृतिले प्रतिकार गरे जस्तो लाग्छ ।
चीनको हुवाई प्रान्तमा डिसेम्बर अन्तिम साताबाट सुरू भएको कोरोना भाईरसले मानिसको आवतजावतमा प्रायः ठप्प पारिदियो । विकासको गतिलाई अर्धविराम लगाईदियो । विश्वको प्रायः मुलुक यसको चपेटामा परेजस्तै हामी पनि पर्यौं । यसरी नै शुरू भयो लकडाउन र एउटा रफ्तारमा हिडेको गाडीमा टक्क ब्रेक लाग्यो । मैले कहिल्यै आफुले आफूलाई ठक्क अडिएर सोचेको रहेनछु । म हुन के चाहान्थे के भईरहेको छु, म छुन के चाहन्थे के छोईरहेको छु ।
                                 
सानोमा यस्तो लाग्थ्यो, म एउटा राम्रो साहित्यकार बन्नेछु । हुन पनि जुन शब्द, वाक्य छोएपनि कविता वा गजल बन्थे । अझ चिन्नेहरू भन्थे वा अधिकारीको छोरो । यसरी लेखहरू लेखिन्थ्यो कि मानौ यसै बाट जिन्दगीको रेखा कोरिदै छ ।
अहिले आफैले लेखेका ति भावहरू हेर्दा लाग्छ, के यि मैले नै लेखेका हुन त, आफ्नै रचनाले आफैलाई गिज्याईरहेको जस्तो लाग्छ । जस्तो सिर्जनामा अब्बल थिए म, त्यस्तै नाच्न पनि उत्तिकै सिपालु, अरुभन्दा फरक शैलीको नाच । वि-वोईङ्ग, घरी हातले टेकेर, घरी टाउकोले । एक दशक पहिले यस्तो नाच त्यति व्यापक थिएन जति आज छ । दर्शकहरू खुब मज्जा मानि मानि हेर्थे, पत्याउदैनथे ।
सिर्जनामा अब्बल थिए म, त्यस्तै नाच्न पनि उत्तिकै सिपालु, अरुभन्दा फरक शैलीको नाच । वि-वोईङ्ग, घरी हातले टेकेर, घरी टाउकोले ।
राष्ट्रिय, अन्तरास्ट्रिय कयौं महोत्सवमा नाचियो । पुरस्कार थापियो, स्यावासी खाईयो ।मलाई नजिकै बाट चिन्नेहरू भन्थे… शरीर चाहिँ नाच्नको लागि र दिमाग चाहि लेख्नको लागि बनेको हो   है । यि स्यावासी सधैभर चलिरहेन । बर्ष थपिए संगै जिम्मेवारि पनि थपिए । आमा- बाले पनि हेरिन्जेल राम्रो भने पनि जिम्मेवारीले थचक्क थिचेपछि अब छोराले केही गर्दिए हलुङ्गो हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो । कयौपटक म यहीं गरेर जिविकोपाजर्न गर्छु भन्थे ।
 
बाबै खाएर नाच्नु फरक कुरा हो, नाचेर खानु फरक कुरा हो, लेखेर खानु फरक कुरा हो, खाएर लेख्नु फरक  भन्नुहुन्थ्यो । मैले पनि सोचे कयौं मानिस जागिर स्ंगसंगै आफ्नो रूचिलाई पनि त अघि बढाएकै छन, म पनि वढाउछु ।
बाबै खाएर नाच्नु फरक कुरा हो, नाचेर खानु फरक कुरा हो, लेखेर खानु फरक कुरा हो, खाएर लेख्नु फरक  भन्नुहुन्थ्यो ।
 
देश छोडेर प्रदेश प्यारो भएसँगै आफ्ना खुबीहरु छोडेर बिस्तारै जुन काममा दक्षता थिएन, हरेक दिन गर्दा गर्दै त्यसैमा दक्षता  बढ्न थाल्यो । आफ्ना खुवीहरू पनि सियो जस्तै भए, कहिलेकाही कपडा च्यातिदा सिलाए जस्तै कहिलेकहीँ मन लाग्दा  लेख्ने, नाच्ने । विस्तारै मकै, चामलमा घुन लागे जस्तै आफ्नो लेख्ने कलामा मक्की लाग्न थालेछ । शरीरमा बोसो बढ्न थालेछ जता पनि बटारिने शरीर बटारिन छाडेछ ।
 
लाग्छ आफैले हिडेका पाईलाहरू आफैले विर्सिए । हुनपनि एकदिन पढेन आर्कौ भयो, नौ दिन पढेंन नौलो  भयो, बिस दिन  पढेन विर्सियो भने जस्तै खुवीहरू पनि हरेकदिन तिर्खानु पर्नुे रहेछ । अहिले म आफै हिडेको बाटोमा मज्जाले झाडी पलाएछ । कापी, कलम लिएर शब्द उन्न खोज्छु बिरलै उनि्नछन, धुन बजाएर नाच्न खोज्छु, मर्किदैन कम्मर । यस्तो लाग्छ परिस्थिति, बाध्यताले आफ्नो कलामा खिया पक्कै लागेको हो । फेरी रेत लगाउने काम आफ्नै त हो, टल्किन र छ्याप छ्याप काट्न समय लाग्न सक्छ तर एकदिन टल्किनेछ, काट्नेछ । 
 
अब दृढसंकल्पका साथ भन्छु मैले पुरा नगरे मेरो बालापनको सपना कस्ले पुरा गर्ने । मैले ननाचे कस्ले नाच्ने, मेरो कलालाई कस्ले माझ्ने । म फेरी लेख्न थाल्छु, फेरी छापिन्छन मेरा शब्दहरू अखवारमा । म नाच्नेछु,फेरी ओइरिन्छन स्यावासीहरू । रात परे पछी आखिर सुर्योदय न भएको कहाँ छ? टुकिमा कम भएको मट्टीतेल फेरी थपिनेछ र उज्यालो पक्कै हुनेछ ।
 
 
गोकुल अधिकारि
कु.न.पा. १४, आर्थर काहुले, पर्वत