आमा ! अब त एउटा सपुत देऊ ।


लेखापढी      १० बैशाख २०७७, बुधबार २१:१४

आमा ! अब त एउटा सपुत देऊ ।
 
सुर्य उदायो,
उज्यालो लिएर आयो ।
रात लाई  दिनमा बदल्न सक्यो ।।
 
जीवनका उल्झनहरू सुल्झाउन ।
बिपदका पहरासँग कैयौं पटक बज्रियौं ।।
परिवर्तनको नाउँमा क्रान्तिको राँको दन्कायौं ।।
राणा शासकको मुटुमा ढ्याङग्रो ठोक्यौं ।
पंचायती शासनको चकचकी बढार्यौं ।।
दुःखलाइ सुखमा बदल्न सकेनौं ।
रैतीबाट नागरिक हुन पाएनौं।।
आमा ! अब त एउटा सपुत देऊ —–
 
भ्रष्टाचार घटाउन विकासको गति बढाउन ।
दुई तिहाइको गणतन्त्रलाई  अगाडि सार्यौं ।।
गरिबी हामीसँगै सधैं रमायो ।
अगुवा जति सबै लुटेरा मात्रै पायौं ।
बाँदरलाइ मकै बारीको गोठाला बनायौं ।।
धमिलो पानीमा माछा मार्ने मात्रै पायौं ।
 
आमा ! अब त एउटा सपुत देऊ —
 
इतिहास भुल्ने,
इतिहासले सिकाएको पाठलाइ बेवास्ता गर्ने ।
कागले कोइलीलाई  काले भनेझैं,
एकले अर्कालाइ दोष थुपार्ने ।
सदियौंदेखि हामीलाइ भड्खालामा मात्र पार्ने,
सत्ता र भत्ताका भोका मात्रै पायौं ।।
आमा !अब त एउटा सपुत देऊ —
 
आधा मृत्यु जस्तो निन्द्रामा कतिसम्म निदाउने ,
कसाही अगाडि उभिएको बोको झैं कहिले सम्म निरीह बन्ने।
आमा ! अब त एउटा सपुत देऊ —
देशलाइ गरिबिबाट चाँडै उन्मुक्ति देऊ ।
आमा ! अब त एउटा सपुत देऊ —
 
बेदकाेट-३, दैजी, कञ्चनपुर