सरकारको नजर बाट ओझेलमा परेको “म” ! आखिर कहिले सम्म?


लेखापढी      ६ बैशाख २०७७, शनिबार ०९:२६

सरकारको नजर बाट ओझेलमा परेको “म” ! आखिर कहिले सम्म?

प्रिय सरकार,

एक नेपाली हुनुको नाताले यो पत्र लेख्दैछु । “म” एउटा प्रतिबिम्ब हो, “म” दार्चुलाको लिपूलेकमा तैनाथ एउटा सिपाही हुन सक्छ अथवा “म” दमौली बजारको तरकारी-फलफुल ब्यापारी हुन सक्छ । “म” रुकुममा बाटो खन्ने मजदुर हुन सक्छ वा “म” रुपन्देहीमा लुम्बिनी बाहिरको मिठाई पसले । “म” बनेपाको मास्टर हुन सक्छ वा बर्दियाको किसान । “म” तिमी हुन सक्छ, तपाइँ हुन सक्छ, तँ  हुन सक्छ वा हजुर हुन सक्छ । “म” म पनि हुन सक्छ ।

सरकार, को हो यो ? के हो यो? के जाति भन्ने खै ? रोना होकी धोना हो ? को धोना हो,  को रोना हो ? हाम्रो कोरोना । हाम्रो यस अर्थमा कि यो हाम्रो रोग हो, जसरी मन नपरे पनि, दुश्मन हाम्रो हुन्छ । हाँसो ठट्टाबाट सुरु भएको काेरोनाको औषधि कोरोना बियरले नै ठिक हुन्छ भन्थे । कहिले चाइनिजले सारेको भन्थे, कहिले अम्रिकाले । कहिले चमेरोले सारेको भन्ने सुनियो, कहिले वुहानमा सी-फूडबाट रे ! कहिले मान्छेबाट मान्छेमा सर्दैन भन्थे भने कोही महामारी हुन्छ भन्थे । यत्तिका मान्छे मरी सके, महामारी त भयो नैं आखिरमा । तर ठूलो डर लाग्छ, आखिर यहि हो कि आउँन बाँकी छ ? सरकार मेरो प्रश्न यहि हो । “म” लाई लाग्दथ्यो, “म” सानो छ तर संसार धेरै अगाडिसम्म विकास भएको छ । सूचना-प्रविधिमा,  चिकित्सा-बिज्ञानमा, अन्तरिक्ष विज्ञानमा ।

"म" लाई लाग्दथ्यो, "म" सानो छ तर संसार धेरै अगाडिसम्म विकास भएको छ । सूचना-प्रविधिमा, चिकित्सा-बिज्ञानमा, अन्तरिक्ष विज्ञानमा ।
संसारमा जहाँसुकै खिचेको भिडियो लाईभ अरुको फोनमा आउछ आज । बिग्रेको मुटु फालेर नयाँ मुटु फेरिन्छ । पृथ्वीबाट GN-z11 32 billion light years पर छ भनेर पत्ता लागिसकेको छ ।  विकास र प्रगतिको यस्तो उच्चतम बिन्दुमा पुग्दा, कोरोना भाइरसले गर्दा आज संसारमा हात कसरी धुने भनेर सिकाउनु पर्दैछ । हाेइन र सरकार ?
 
ख्याल ठट्टा गर्दागर्दै लक्-डाउन (बन्दाबन्दी) शुरु भयो । के भो ? लक्-डाउन भो । सरकारसँग सबै कुरा छ, प्रसाशन छ, प्रहरी छ, सेना छ, सूचना छ, अर्थ छ, गृह छ,  स्वदेश छ, विदेश छ, लट्ठी छ, बूट छ, डाक्टर छ, अस्पताल छ, सामान  किन्ने पैसा छ, बोर्डर रोक्न बेरिएर छ, एअरपोर्ट रोक्न ताला छ । मुख्य कुरो सरकारसँग सरकार छ । तर पनि यो कोरोना रोकिएको छैन । सुनिरहन्छ यता भेटियो उता भेटियो । कहिले नेगेटिभ पनि पोजेटिभ भयो रे, कहिले पोजेटिभ पनि नेगेटिभ । “म” झन अलमलमा पर्छ । सरकार ले “म” लाई  केहि आधिकारिक जानकारी दिदैन । दिइहाले पनि ढिलो दिन्छ । “म”ले  बिदेशीले के भन्यो किन बुज्छ? “म” लाई  हाम्रो नेपाली सरकारको आधिकारिक जानकारीको सधै प्रतिक्षा रहन्छ । सरकार, यो कोरोना रोक्न र नाश गर्न प्रत्येक “म” ले सरकारको निर्णयको साथ, समर्थन र पालना गरिरहेको छ, गर्नै पर्छ । कोरोना अन्त्य होइन, कोरोना जस्ता अनेक बिरोना, सिरोना, दिरोना भबिष्यमा पनि आउने नै छन्, हामी अझ बढी तयार हुनु पर्छ । भनिन्छ नि, बाँचुन्जेल  के के देख्नु पर्छ के क? देखिरहेको छ !
 
सरकार लक्-डाउन गर्छ । कोरोना, भुकम्प आए जसरी  शनिबार  बिहान कसैलाई थाहै नदिएर लुसुक्क सुटुक्क सिंहदरबार पसेको हो र ? अनि सरकार भनेको के हो ? सरकार हाम्रो हैन र ? प्रत्येक “म” भएकोले सरकार भएको हैन र ? अनि किन “म” लाई वास्तै गर्दैन सरकार ? किन केही नमिलाई  लक-डाउन गर्छ सरकार ? कति चुलो चिसा छन्, कति पैतालाका छाला चोक्टिसके, कति नानीहरुका आँखा बाटो हेर्दा हेर्दै थाकिसके ।  कति घरमा छोरो आज आउछ कि भोली भन्दै चिन्तीत् छन् ।   रोग मार्न नसके पनि, निमोटेर फाल्न नसके पनि, परिवार त पुरा हुन पाए हुन्थ्याे नि, सरकार ! घरबाट टाढा, यस्तो आपतकालिन अवस्थामा कसलाई पो रहन मन छ र ? सबैकाे बाध्यता हो । अलपत्र सारै गार्हो हुन्छ । आज धेरै “म” अलपत्र परेका छन्, सरकार !
 
घरबाट टाढा, यस्तो आपतकालिन अवस्थामा कसलाई पो रहन मन छ र ? सबैकाे बाध्यता हो । अलपत्र सारै गार्हो हुन्छ । आज धेरै “म” अलपत्र परेका छन्, सरकार !
 
 
भारतको हरियाणाबाट ३ दिन हिडेर “म”  नेपालको नाकामा पुग्छ, बनबासा । बाटोभरि  भारतीय प्रहरी र अधिकारीको गाली, लात्ती, खादै स्वदेश पुग्ने सपना देखेर । “म” उतै रोकिन्छ, यता आउन दिदैनन् । “म” लाई घर पुग्नु छ । आमाले भारत नजा भनेको दशैं बाट नै हो । श्रीमती ठुस्स परेपनि “म” को परिस्थिति बुझेछिन । भारत नगई हात मुख जोड्न पुग्दैन । “म” लाई पनि अरु बाबुहरु जस्तै घर मै केट्केटि सँग बस्न मन छ । मन भएर के गर्नु ? मनले त के के भन्छ के के । अब “म” फेरी भारत-नेपालको सिमाना हुदै पहाडहरु चढी दार्चुला पुग्छ । त्यहाँ पनि रोकिन्छ ।  सबैको आँखा छलेर, काली नदी तर्छ, बग्ने, डुब्ने डरमा । कालीको प्रतिष्ठा अलि कडा नै छ ।  मान्छे, घर सबै बगाएर लाग्छिन काली । घर पुग्ने सपना भन्दा ठुलो कुनै सपना हुदैन । त्यही सपना देखेर आफ्नाहरु सित हुन काली तरी स्वदेश को माटो टेक्छ “म” । यहाँबाट पनि २ दिन हिड्नु छ, गाउँ पुग्न, घर पुग्न । तर धन्न स्वदेश त आइपुग्यो, अब आफ्ना गोरेटो समाएर पुगिन्छ परिवार कहाँ सोचेको   “म ” लाई  प्रहरीले  समात्छ, नियन्त्रणमा लिन्छ, अनि  लगेर क्वारेन्टिनमा भनेर थुन्छ ।
 
 त्यहाँ पहिलेदेखि थुनेर राखेका अरु पनि छन् । सरकार, मलाई झन् डर छ, अब झन् पो मलाई यो कोरोना लाग्ने होकी ? संकास्पद सबैलाई क्वारेन्टिनमा राख्नु पर्छ ।  “हामी” लाई सुरक्षित राख्न । “म” र “म” मिलेर न “हामी” हुने हो । तर सरकार क्वारेन्टिनमा राख्नु भनेको जेलमा राख्नु होइन । भारतबाट आउनु, विदेशबाट आउनु वा घरमा नहुनु कुनै कसुर होइन, गल्ति होइन र क्वारेन्टिन सजाय होइन । आज क्वारेन्टिन भन्ने बितिकै “म”  डराउनु पर्छ । “म” डराउनु किन पर्ने हो, सरकार ? 
 
 
सरकार, “म” बसको चालक । लक्-डाउनले गर्दा घर मै छु । चामल सकियो । । पिठो सकियो । दाल पिस्नु छ । मिल खुलेको छैन । नजिकैको पसल ३ किलो मिटर टाढा छ । त्यहि १०५० को २५ किलोको चामल पाउँछ । ठिकै छ । मेरो कमाइ अनुसार यो चामल । बाहिर बेला बेला प्रहरी हिड्छन् । अस्ति दुई जनालाई  लट्ठीले बजारे । लक्-डाउनमा किन बेकाम  निस्केको भनि । हामी पनि त्यस्तै  त छौ । सरकारले घर मै बस, कोरोना सरुवा रोग हो, ज्यान लिन्छ, अरुबाट तपाईँ लाई सर्न सक्छ, तपाईबाट अरुलाई  भने पछि किन निस्किने ? महामारीको बेलामा । यत्तिका दिन “म” घर मै छ । अब अति भयो । घरमा खान केहि छैन । डरलाई पर सार्दै “म” निस्किन्छ । लुक्दै लुक्दै “म” भिजेको बिरालो जस्तै गरि चोक पुग्छ । एउटा मात्र पसल आधा खुलेको छ । “म” हतार हतार भित्र छिर्छ । पसले भन्छ, “के चाहियो छिटो भन, भर्खर पुलिस आथ्यो । ठोक्छ फेरी ।” झन्डै पसल खुलेको छ । “म” ले सबैभन्दा पहिला चामल सम्झिंछ । घरमा एक सिता छैन । छोरालाई बिस्कुट, आमा-बालाई  सुन्तला, यस्तै यस्तै । त्यहीँ चामलको ५२  रे, ८० को सुन्तला, १५० रे, सबै त्यस्तै । “म” ले भन्छ, “महँगो भएछ है?” “झन्डै पाइएको छ भन भाइ, भोलिदेखि खोल्न दिन्न रे, समान नै आएको छैन” । सरकार, लक्-डाउनमा “म” कहिँ निस्केको छैन, आज चामल किन्न मात्र हो । “म” खुसि छ, चामल पाएकोमा । पुलिस ले ठोक्ला नठोक्ला, पसलेले ठोक्यो “म” लाई ।
 
सरकार, कति नेपाली बिदेशी भुमिमा अलपत्र परेका छन् । गास, बास अनि कपास कैं समस्या होला । विदेश अनि महामारी । जो कुशल छन्, उनीहरुलाई शुभकामना छ ।   सुरक्षित बस्नुस । 
जो कुशल छन्, उनीहरुलाई शुभकामना छ ।   सुरक्षित बस्नुस । जो एक्लै छन्,  वा अप्ठेरो मा छन्, प्रत्येक दिनको कमाईले जीविका चलाउथे, उनीहरुलाई पक्कै समस्या छ होला । उनी हरु नेपाली हुन्, हाम्रा हुन् ।  उनीहरुको कुशल उद्धार हुन अत्यन्तै जरुरी छ ।
जो एक्लै छन्,  वा अप्ठेरो मा छन्, प्रत्येक दिनको कमाईले जीविका चलाउथे, उनीहरुलाई पक्कै समस्या छ होला । उनी हरु नेपाली हुन्, हाम्रा हुन् ।  उनीहरुको कुशल उद्धार हुन अत्यन्तै जरुरी छ । लौन, के गर्ने हो सरकार ? सडकमा अलपत्र परेको देख्दा प्रत्येक “म” लाई दुख्छ, सरकार ।
 
सरकार, “म” उमेरले ५२  पुग्यो ।  नवलपरासीको  काठको मिस्त्री । झ्याल ढोका बनाउछ । अहिले श्रीमतीसंग कैलालीमा बस्छ । के बस्छ भन्नु, काम   गर्छ । सबै ठिक छ । जसो तसो चलिरछ । पैसा आउन रोकिएको छ, तर केहि छैन । सबैकाे रोकिएको छ ।  लक्-डाउनमा यस्तै हो ।
 
“म” को एउटा मात्र  सन्तान । २३ वर्षकी छोरी । अघिल्लो हप्ता सुत्केरी भएकी छे । ज्वाई मलेशियामा छन्  । सुत्केरी हुनभन्दा अगाडि आइपुग्छु भनेको मान्छे, लक्-डाउनले रोकियो । सुत्केरी छोरी माइतमा एक्लै परि । लक्-डाउन एक हफ्ता, दुइ हफ्ता गर्दा गर्दै यत्रो दिन भैसक्यो । लक्-डाउन खुल्ने  बित्तिक्कै  जाने भन्दै बसेको, खै अब कहिलेसम्म हो । हिडेर जाने भनेको श्रीमतीको घुँडामा समस्या छ । वडाले सिफारिस बनाए मोटर साइकल जान  दिन्छ भनेको सुनेर “म” वडा धाउछ, त्यहाँ  पुग्न पनि प्रहरीको डर छँदैछ । बल्ल बल्ल बिलौना गर्दै वडाले एउटा सिफारिस कोर्छ । सिफारिस लिएर सिडियो  भेट्न पुग्छ । भेट हुदैन । कुरेर बस्छ । सिडियो सापहरु, सिमानामा मान्छेहरु छिरेको ठाउँमा गएका छन् रे । ढिलो हुन्छ । अब भोलि । भोलि बिहानै सिडियो अफिस  पुग्छ ।  सिडियो साप राम्रै मान्छे परेछन् । पहिला त पास बनाइदिनु पर्यो भन्ने बितिकै, अहिले केहि पास बन्दैन, सबै पास बन्द छ भन्दै जंगिए तर पछी “म” ले सबै कुरा सुनाए पछि सिडियो सापले कुरा बुझे । मेडिकल कागजहरु मागे । सबै बुझाएर “म” ले दुइ दिनको सवारी पास पायो । आज चार बजि सक्यो । आजको मिति सकियो । टंकी भरि पेट्रोल भर्छ । जर्किनमा पनि पेट्रोल राख्छ । बाटो को के भर? मोटर साइकलले पनि अलि तेल बढि खान्छ । कहाँ बिग्रेला ठेगान छैन । कुनै वर्कसप खुलेका छैनन् । बनाउने भन्दा भन्दै लक्-डाउन शुरु भयो । पैसा पनि थिएन । काम गरेको पैसा बिस्तारै आउने । हतार छ । पास छ । भोलि बिहानै ५ बजे  “म”  टाप हान्छ । बाटोभरि प्रहरीको चेकिङ्ग हुदै (लगभग २० ठाउँमा )  पास देखाउदै “म” कैलाली, बर्दिया हुदै बाँके पुग्छ । वर्कसप, पसल, होटेल, भोजनालय केहि खुलेका छैनन् ।  धन्न श्रीमतीले रोटि तरकारी बनाएकी । त्येसैले भोक टर्याे । बाँकेमा पुग्न नपाउदै  प्रहरीले रोक्छ । पासले काम गर्दैन । भित्र असइ साप  लाई  बुझ्दा, कसैलाई नछोड्ने आदेश छ रे । अनि यो पास पनि काम लाग्दैन  रे । “म” पनि रिसाउछ ।
“प्रशासनको पासले काम नगरे कुन पासले गर्छ त ?”
 “अहिले गृहको बाहेक कसैको पास नछोड्ने भन्ने छ “
“सिडियोको पास भनेको गृहको हैन र, सर?”
असइ सापले कसैलाई फोन गर्छन । उताबाट नछोड्ने आदेश आउछ क्यारे, कराउदै हल्दार सापलाई  बोलाएर “म” लाई बर्दिया फिर्ता छोडेर आउन आदेश दिन्छन्   ।
“म” सपनाबाट बिउझिये झैँ छ । सुत्केरी छोरी । लंगडी बुडी । थोत्रे सवारी । भागदौडको थकान ।
“सर, म अब के गरु? ” सबै कुरा सुनाउछ ।  कताबाट हो कोहलपुर थानामा फोन गर्छ । उता डिएसपी सापले सिडियो सापसँग बुझ्ने जानकारी दिन्छन् । उताबाट फोन न आउने बेलासम्म “म” केहि सोच्न सक्दैन ।
 
ढिलै भए पनि,  खबर राम्रो मिल्छ । “म” लामो सास फेर्दै अगाडी बढ्छ । मोटर साइकलले धम्कि दिए पनि, बनाउने ठाउँ कहिँ खुलेको छैन । दाङ्गको जंगलमा  आएर कता हो मोटर साइकल  बन्द हुन्छ ।
 तातेर होला भनि “म” एकछिन थकाई मार्छ ।  अब मोटर सिकलले टेर्ने छोड्छ । न किकले, न सेल्फले । अलि पर ४-५ किलोमीटर अगाडि एउटा सानो बजार छ रे । सकी न सकी धकली, यो घर्मीमा “म” अगाडी बढ्छ । घाम सिधै टाउकोमा छ । बुड़िया पनि सकी न सकी खच्याक  खच्याक पछी पछी पाइला सार्दैछिन् ।  
सानो बजार पुग्छ । बजार सुनसान छ । केहि खुलेको छैन ।
 
यहाँ जताततै “म” हरु छन् । कसैको कथा बाहिर आउला, कसैको हराउला । सडकमा, बगरमा, चौरमा, छहारीमा, गोरेटामा । निराश, तनावग्रस्त, उथल पुथल, थकित, पिडित “म” हरु । घरको आँगन सम्झिरहेका “म” हरु । धर्तीमा परिवार सहितको घर भन्दा प्यारो के छ र ? कहिले यी “म” आफ्नो आँगनमा चिसो पानी ले मुख धोएर  थकाई मार्लान ?
के जोगाउने  भनेको शरिरलाई मात्र हो र ? के यो मन, आत्मा मारेर,   कोरोनाबाट शरीरलाई   बचाएर पछी खुशि मिल्ला ? सरकार, “म” ले अब के गर्ने ?  के “म” घर पुग्ला ?

सुदिप बवी भुपाल सिंह Kathmandu 
(नेपाली चलचित्रका लेखक तथा निर्देशक हुन्, माला र रूद्रप्रिया उनीबाट निर्देशित चलचित्र मध्ये हुन् ।)