प्रवासी नेपालीः देखिएन सरकारकाे जिम्मेवारी


लेखापढी      २८ चैत्र २०७६, शुक्रबार १६:०४

प्रवासी नेपालीः देखिएन सरकारकाे जिम्मेवारी

विश्वभर कोरोना भाईरस ( कोभिड – १९ ) नामक महामारी फैलिएको संकटपुर्ण घडीमा नेपाल बाहिर रहेका लाखौं नेपालीहरु समेत प्रत्यक्ष प्रभाबित रहेका छन ।  विश्व नै कोरोनाले संक्रमित भएको अवस्थामा स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या ब्यापक रहेको छ। छिमेकी मुलुक भारतमा काम गर्ने श्रमिक नेपाली मात्र पनि लगभग दसौ लाख रहेका छन ।  

सरकारले कोरोना संक्रमण लाई रोक्न केही साता देखी लकडाउन गरेको छ जुन स्वागत योग्य निर्णय हो, जसमा हामी सम्पुर्ण नेपालीले साथ, समर्थन र सहयोग गर्नैपर्दछ । तर भारतको राजधानी दिल्लीबाट ७५ घण्टामा आठ- नौ सय (८००-९०० ) किमी पैदल हिंडेर नेपाल सिमा नाका पुगी रोकिन बाध्य नेपाली जनताहरुको दु:ख, पिर-मार्का किन सम्बोधन भएन ? कुनै स्वास्थ्य स्तिथी चेक जाँच नगरि कुन मापडण्ड अनुसार कोरोना संक्रमित हुनसक्ने शंका गरियो ? किन भारतीय भुमिमै अलपत्र अपमानित हुन बाध्य गरियो सरकार ? 

सरकार, के सुकिला-मुकिला र सम्भ्रान्त नेपाली मात्र जनता हुन जसलाई हवाइजहाज चढाएर सम्मान पुर्बक ब्यबस्थित क्वारेन्टाईन मा राखियो तर भारत लगायत खाडी मुलुकमा रहेका नेपालीको चित्कार कानसम्म परेन ? सम्मानीत सर्बोच्च अदालतले गत चैत्र २५ गते दिएको आदेश पालना नगर्नु को कारण के हो ? सम्मानित सर्बोच्च अदालत भन्दा ठुलो नेपाल सरकार हुन सक्दैन साथै उक्त आदेशको पालना नहुनु न्यायालय माथिको अपहेलना हो ।  

गत चैत्र २५ गते सर्बोच्च अदालतमा पेश भएका २ वटा रिट निबेदनहरु मध्ये मुद्धा न. 076-WO-0933 मा कोरोना भाईरस जस्तो महामारी बाट उत्पन्न परिस्थिमा बिदेशमा रहेका नेपाली नागरिकहरु लाई स्वदेश फर्किन रोक्न कानुन बिपरित भएको साथै अर्को मुद्धा न. 076-WO-0935 मा भारत बाट नेपाल फर्किने नेपाली नागरिकहरुलाई दार्चुला सिमाना को महाकाली नदी पारी भारतीय भुमिमा करिब सात सय (७००)  जना नेपाल प्रबेश गर्न नदिएर अलपत्र पारेको तथा नेपाल सरकारले कुनै ब्यबस्थापन गर्न प्रयास नगरेको बिषय बारे “नेपालको संबिधानको धारा 133 अन्तर्गत”  सम्मानित सर्बोच्च अदालतले नेपाल सरकारको नाम मा आदेश जारी गरेको थियो ।  

सम्मानित सर्बोच्च अदालतका न्याधिसद्वय मनोज कुमार शर्मा र दिपक कुमार कार्की को संयुक्त इजलासले गत मंगलबार  बिदेशमा आपतमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने ब्यबस्था मिलाउन आदेश दिएको थियो ।

यदी स्वदेश फर्काउन सकिने अवस्था नभए बिदेशमै खाना, बस्न तथा उपचारको ब्यबस्था गर्न समेत आदेश दिएको थियो तर सरकारले देशको पश्चिमि सिमाना मा सुसाउदै बगेको उर्लदो महाकाली नदी किनारामा आफ्नो झिटी गुन्टा बिसाएर बसेका नागरिक देखेन ।  

आफ्नो देश फर्किन समेत रोईकराई गर्नु पर्ने हो भने किन चाहियो “घुम्ने मेच माथि बसेको अन्धो, बहिरो सरकार”? आफ्नो देश फर्किने आशामा रहेकी एक महिलाले त्यही बच्चा जन्माइन, कती रोयो होला उनको मन। साना बालबालिका संगै खुल्ला आकाश मुनी हप्तौ देखी अलपत्र रहेका छन । कोरोनाको संक्रमण भन्दा बढी सरकारको आक्रामण तथा सरकारले गरेको बिभेद सहनु पर्ने बिडम्बना आखिर किन ? 

सम्पन्न मुलुक लगायत खाडी मुलुकमा समेत लाखौं नेपालीको रोजगार गुमेको छ, बिना तलब कम्पनीका आवासमा दु:ख गरी बस्नु परेको छ साथै रोजगारिको लागि भिजिट भिसामा गएका हजारौं नेपाली सहारा तथा आहारा बिहिन भएका छन।

के सरकारले स्वदेश फर्काइ उचित स्वास्थ्य ब्यबस्थापन गर्न सक्दैन ? कोरोना महामारीको त्रासले बिदेशमा झन ग्रसित रहेका लाखौं नेपालीहरुको स्वास्थ्य स्तिथी साथै मानसिक तनाब कम गर्न उचित सकारात्मक परामर्शको आबश्यकता देखिन्छ। यस आपतकालिन समयमा हामी सबैले आत्मबिश्वास का साथ अघी बढ्नु पर्दछ ।  

सिंगो विश्व महासंकटबाट गुज्रिएर रहेको समयमा केही दिन अघी मात्र जर्मनी हेसे प्रान्तका अर्थमन्त्री थोमस स्याफरले अर्थ ब्यबस्था खस्किदै गएकोमा चिन्तित भैई आत्महत्या गर्न वाध्य भए भने नेपाल सरकार गुणस्तरिय अत्याधुनिक स्वास्थ्य सामाग्री खरिदमा गर्ने बहानामा भ्रस्टाचार गर्न अघी सरेको देखिएकाे छ। प्रतीपक्ष काङ्रेशी नेताहरु “दुधको साक्षी बिरालो ” जस्तै मस्त निन्द्रामा लिन छन ।  

चुनाबि प्रचार प्रसारमा हजारौं मिटर कपडाले देश भर पार्टि झन्डा बनाउन, पार्टिका टिसर्ट र क्याप बनाउन करोडौ पैसाको खोलो बगाउने राजनीतिक नेता र सरकार अहिले बिभिन्न बहनामा भ्रस्टाचार गर्न ब्यस्त रहेकाे देखिदैछ । अहिले जनता निरिह बनेका छन, बाध्य भएर घर भित्र रहनु परेको छ। घर भित्रै बाट जनता हेरीरहेका छन, सुनिरहेका छन तसर्थ भ्रस्टाचारीहरु खबरदार रहे हुन्छ। 

चीनमा कोरोना भाईरस तिब्र गतिमा बढेको समयमा नेपाल सरकारले देखाएको गतिशिलताका कारण त्यहाँ रहेका बिद्यार्थी लगायत अन्य नेपालीहरु स-परिवार, १७५ जनालाई उद्दार गरी तत्काल गत फाल्गुन ४ गते सुरक्षित क्वेरनटाइन मा राखेको जस दिनैपर्दछ र चौतर्फी वाह-वाही बटुलेकै हो ।

चीनबाट उद्धार गरे जस्तै ओली सरकारले दु:ख, पिडामा रहेका लाखौं बिदेशी नेपालीहरुको उद्धार गर्नैपर्दछ । आफ्ना नागरिकको पहिचान र उद्धार गरी स्वास्थ्य, सुरक्षा को सुनिश्चितता गर्न नसक्ने हो भने भोली त्यही चेतनशील नागरिकले यो सरकार चिन्ने छैन, बेलैमा चेतना होस। 

डी. चन्द ठकुरी
दैजी, कञ्चनपुर
d.chandthakuri67@gmail.com