सरकार, भोकमरी लाग्न सक्छ है ?


लेखापढी      २६ चैत्र २०७६, बुधबार ०८:२७

सरकार, भोकमरी लाग्न सक्छ है ?

कोराना कोभिड -१९ ले सबैभन्दा ठूलो त्रासदी भनेको आर्थिक मन्दी तत्पश्चात आर्थिक संकट हो । त्यसपछि ल्याउने भयानक त्रासदी भनेको खाद्यान्न संकट हो, यदि यो माहामारी केही महिना सम्म लम्बियो भने ।

हाम्रा दुरदर्शिता भएका नेताहरूले राजा महेन्द्र र राजा बीरेन्द्रले स्थापित गराईदिएका कैंयौं कलकारखाना तथा उद्योगहरू कि कौडीको मोलमा बेची खाए कि जनयुद्धको नाममा बमले उडाए । सर्वहारा र मजदुर नेता कहलिएकाहरूले उदारवादका नाममा पुँजीपती भित्राए र हाम्रो जनजीवन निकै स्तरहिन बनाए । पुँजीपतिको काम नै थुपार्नु हो ।

भुमि सुधारको नाममा राजा महेन्द्रले धेरै ठकुरी , राणाजी क्षेत्री बाहुन, थारू तथा अन्य जमिन्दारले बाँजै राखेको कैयौं जग्गाहरू खोसेर भुमिलाई सहि सदुपयोग गरि उव्जनीमा ग्राह्यता दिएका थिए । सर्बहारा जनताका नेताहरूले उव्जनीको महत्व भएको जग्गालाई भु-दलाल तथा माफियाको प्रयोग गरि प्लटिङद्वारा धुजा धुजा बनाए । राष्ट्रको बिकासमा महत्त्वपूर्ण भुमिका रहने जन श्रमलाई रेमिटको लोभमा बिदेशमा हली बनाउन पठाए ।

देशमा जनताको रगत पसिना लुटेर ट्याक्सको नाममा जम्मा गरेर राखेको श्री सम्पत्ति पनि देशमा खडेरी , भुईँचालो , बाढी, पहिरो र हालै माहामारीको कष्टकर समयमा पनि उद्वारको बहाना तथा नाममा बिचौलीया राखेर हसुर्न हसुरे असुरका सन्तानहरूले । यी जनताको शत्रुहरूले देशको महत्त्वपूर्ण सम्पत्ति नदिनाला, बन जंगल र खानीहरू कि बिदेशीको हातमा कि माफिया तथा डनको हातमा कमिशन कुम्लाएर कौडीमा सुम्पिने कु-कार्य गरे ।

कोभीड-१९ले त्राहिमाम बनाए पछि बिश्वको मै हुँ भनेर फुईँ दिने राष्ट्र पनि रूनु न हास्नुको संघारमा पुराईदिएको अबस्था छ । अमेरिकाले दुई ट्रिलियन डलर उद्वार प्याकेजको नाममा दुवै सदनबाट पास गरि निकाले । त्यो रकम त सिर्फ स्वास्थ्य उद्वार तथा उपचार र तलब भत्तामा मात्रै खर्च हुने देखियो ।

पचास बिलियन त न्युयोर्कले मात्रै फेडरल सरकारसँग मागेको अबस्था छ । भारतले हालै संसदको तलब नदिने घोषणा गर्यो , पाई पाई रूपैयाँ उद्वार कोषमा जम्मा गर्न आग्रह गर्यो । आज युरोप तथा अन्य एशियाको हालत पतला भईसकेको अबस्था छ भने चीन बिना हिचकिटाहट अगाडि बढ्ने प्रण गरिसकेको अवस्था छ । जहिले आन्तरिक आतंकबादसँग जुधिरहेको पाकिस्तानको हालत त झन् निरीह देखिन्छ । अब आर्थिक संकट त जसरि पनि टर्ला तर खाद्यान्न संकट बिश्वले कसरी सम्बोधन गर्ला त ?

मानिसले बाच्नको लागि पैसा खाने होईन आखिर खाने त अन्न नै होनी । बिश्वका कैयौन देशले त खाद्यान्न संकट टार्ला, अन्न उव्जनी निर्यात नगर्ला, उसले खाद्यान्न  र अौषधीजन्य समाग्री र उपकरण निर्यात बन्द गर्ने छ र रिजर्भमा राख्नेछ । उसले आफुलाई उपयोग नहुने सामान मात्रै निर्यात गर्नेछ, जुन हामीलाई काम नलाग्न सक्नेछ । यदि हामीले आयात गर्ने अत्याबश्यक सामाग्री पनि आयात गर्नु परेता पनि आर्थिक दुर्वलताको कारणले केही गर्न सक्ने अवस्था हुने छैन । सम्पुर्ण राष्ट्र तथा शक्तिशाली राष्ट्रले आफैलाई अभाव भएको बखत फुट्टिकौडी पनिसहयोग गर्ला भन्ने आश नगरे पनि हुन्छ ।

अब हाम्रो जस्तो देशका सबै युवा जति बिदेश निर्यात छ, पञ्चायत कालमा अन्न उव्जनी निर्यात गर्ने देश आज नुनदेखि दूधसम्म तथा चामलदेखि रोटी सम्म , फलफुलदेखि माछा मासुसम्म आयात गर्ने देशका नेताले खाद्यान्न संकट कसरी सम्बोधन गर्लान् त ? अब विश्व बजारमा मन्दीले गर्दा कति युवा फर्किने हुन् स्वेदेश, कतिले ल्याउने हुन् माहामारी ? त्यो हेर्नै बाँकि नै छ । एकै चोटि बिदेशमा भएका युवा फर्केर आए तिनलाई राख्ने क्वारेन्टाइनको व्यबस्था गर्न नालायक नेताहरू कतिको सक्षम होलान् त ? अब जनताहरूले यी नेताहरूको मुख ताकेर बस्न बाहेक आफै अग्रसर हुन जरूरी छ । केही नेताहरू त आपतकालिन समयमा पनि देशको ढुकुटी लुट्ने दरिद्रहरू जस्ता देखिएका छन् । आजसम्म त्यत्रो देशमा संकट आईपर्यो तर कहिले यी नेताहरूले लुटेको धन जनताको उद्वारमा खर्च गरेको देखिएन । राजाले गरेको सहयोगमा पनि बारम्बार प्रश्न उठाउँछन् तर जसले सुटबुट लगाएर ठाँटिएर प्रश्न उठाएका छन् तिनले आजसम्म समाजको लागि कौडी सहयोग गरेको देखिएको छैन ।

राजाको सम्पत्तिमा प्रश्न उठाउनेले आज सम्म सम्पत्ति सुद्विकरणबाट आफ्नो सम्पत्ति सुद्व भएको सर्टिफिकेट लिएको देखिएको छैन । यहाँ आफु पनि माखो मार्दैनन् तर अरूले गरेको सुकार्यको पनि बिरोध गर्ने दरिद्र मानसिकता छ । अब यस्ता नेताको आड भरोसामा पर्नको सट्टा प्रत्येक नेपालीजनको आफ्नो दायित्व र कर्तव्य भनेको आफैले केही गर्न सक्न पर्छ भनेर जागरुक हुने समय हो । पन्चानब्बे प्रतिशत किसान भएको देश आज पन्चानब्बे प्रतिशत नै दलाल भएको देशमा गनिन्छ ।

अब सबै जनता जाग्न जरूरी छ खेतबारी , करेसाबारी , गमला आदि बाँजै नराखौं । घरघरमा अण्डा खानको लागि भएपनि कुखुरा, हाँस पालौं । सकिन्छ भने ठाउँ हुनेले दूध खानलाई गाई भैसि गोरस पालौं । माछामासुको लागि माछा पालन गरौं , भेडा बाख्रा पालौं । नदिनाला खोलाको माछा जथाभावी मार्ने काम बन्द गरौं । माछाको अण्डाको संरक्षण गर्ने किसिमले भुरा माछा र अण्डा दिने माउ माछाको संरक्षण गर्ने तरिका सिकौं , जथाभावी माछा मार्ने नगरौं , सिजन हेरेर माछा मार्ने बानी बसालौं । अब देशमा नेता भन्दा किसानहरूको महत्त्वपूर्ण भुमिका रहन्छ । हामी नेपाली जन्म जात किसानी हौं तसर्थ अन्न उव्जनी तिर द्यान दिउँ , फलफुल , अौषधी मुलक बोट बिरुवा रोप्न थालनी गरौं र संरक्षण गरौं । जडिबुटी बिदेशीलाई पैसाको लोभमा बेच बिखन गर्नको साटो आफै उपयोग गरौं र स्वस्थ र तन्दुरुस्ती बनौं । बाली धेरै हुन्छ भनेर जथाभावी बिष प्रयोग नगरौं र पैसाको लोभमा तरकारी र फलफुलमा बिष नहालौं । अर्थतन्त्र धान्ने र खाद्यान्नको सम्बोधन अब सिर्फ किसान बर्गले मात्रै गर्न सक्छ ।

तसर्थ, बेलामै सोचौं बेलामा नै केही गरौं । स्वावलम्वी बनौ , आत्म निर्भर बनौं । जय किसान ! जय राष्ट्र , जय जनता !

सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा अध्यक्ष राष्ट्रिय सरोकार मञ्च नेपाल

सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा अध्यक्ष राष्ट्रिय सरोकार मञ्च नेपाल