कोरोना भाइरससँगको महायुद्ध


लेखापढी      २५ चैत्र २०७६, मंगलवार १८:३९

कोरोना  भाइरससँगको महायुद्ध

सर्वप्रथम, फ्रन्टलाइन (पहिलो पंक्ति)मा बसेर कोराना भाइरसबाट संक्रमितहरुको सेवा गर्ने विश्वभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई सलाम !

सम्पूर्ण, जो दिनरात, घर परिवार, आफ्ना पराई नभनि कोरोना भाइरस (कोभिड–१९) बाट मानवजातिलाई जोगाउन लागिपरेका छन् उहाँहरुलाई सलाम !

कोरोना भाइरस

नोभल कोरोना भाइरस चीनको मध्यभाग वुहान शहरबाट गत डिसेम्बरमा शुरु भई अहिले विश्वभर महामारीको रुप लिइसकेको छ । विश्वभर ४ महिनाको अवधिमा नोभल कोरोना भाइरस वा कोभिड–१९को संक्रमणबाट १२ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेको छन् भने ६५ हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ । यसको दुःखद् पक्ष यो संख्या दिनानुदिन बढ्ने क्रममा रहेको  छ । यस प्रकारका कोरोना भाइरसहरु विश्वमा पहिले पनि देखा परिसकेका थिए र हाल महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस नयाँ कोरोना भाइरस हो जसका कारण कोभिड–१९ रोगले  समाउँदछ । कोरोना भाइरस स्वाशप्रस्वासका माध्यमबाट सर्ने रोगको रुपमा बैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् भने कोरोना भाइरसले ज्वरो आउने, सुख्खा रुघाखोकी लाग्ने र विस्तारै श्वासप्रश्वासमा समस्या ल्याउँदछ । कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने जोखिम त हुन्छ तर कोरोना संक्रमित हुँदैमा ज्यानै जाने संख्या हालसम्म एकदमै थोरै रहेको विभिन्न तथ्यांकले देखाएको छ ।

महामारिको इतिहास

विश्वमा विभिन्न प्रकारका महामारीहरु उब्जने र फैलिने क्रम जारी नैं छ । सन १९१८ मा स्पेनिस फ्लुका कारण विश्वभरी झण्डै ५ करोड मानिसको ज्यान गएको थियो । यसै गरी सन १९५७ मा एसियन फ्लु, सन १९६८ मा हंगकंग फ्लु, सन २००९ मा स्वाइन फ्लु, बर्डफ्लु लगायतका विभिन्न फुलुहरुका महामारीहरुले विश्वभर धेरै मानिसको ज्यान लिइसकेका उदाहरण हामीसामु छन् । सबैभन्दा गहन विषय हामी वर्तमान समयमा कोरोना भाइरसको संक्रमणको जोखिममा छौं जसलाई विश्व श्वास्थ्य संगठनले महामारीको संज्ञा दिइसकेको छ भने संयुक्त राष्ट्र संघले दोश्रो विश्वयुद्ध पछिको ठूलो चुनौतिको रुपमा रहेको बताएको छ ।

कोरोनासँगको महायुद्ध

विश्वमा कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएसँगै मानव जातिका लागि यसबाट जोगिनु ठूलो चुनौति भएकोे छ र यसलाई पराजित गर्नका लागि महायुद्ध नै लडनुपर्ने अवस्था आएको हो । प्रायजसो युद्धमा मिसाइल, युद्धपोत, ट्याङ्क जस्ता विभिन्न हातहतियारहरुको प्रयोग गरिन्छ जुन मानिस÷मानिस वा देश÷देश वा कुनै समुह÷समुहका बीचमा हुन्छ तर यो युद्ध कुनै मानिस वा समुहसँग नभएर एउटा भाइरस विरुद्धको लडाई हो । यो अन्य युद्ध भन्दा फरक छ किनकी यहाँ व्यक्ति वा समुहसँग लडाइ नभएर एउटा भाइरससँगको लडाई हो । यो भाइरस भनेको अत्यन्त सुक्ष्म जीवाणु हो जुन सुक्ष्मदर्शक यन्त्रका माध्यमले मात्र हेर्न सकिन्छ ।  भाइरस सानो छ तर भयानक पनि छ ।

युद्धका हतियार

कोरोना भाइरससँगको महायुद्धको सबैभन्दा बलियो हतियार भनेको सामाजिक दुरी कायम गर्नु हो, व्यक्ति–व्यक्तिहरुबीचको दुरीलाई बढाउनु हो । दोश्रो हतियार साबुनपानीले बारम्बार हात धुनु हो, यसै गरि अर्काे हतियार घरबाहिर ननिस्किनु र निस्कनै परे सुरक्षित तबरले मास्कको प्रयोग गर्नु हो । यस रोगको उपचार हालसम्म पत्ता नलागेकोले सबैभन्दा ठूलो बुद्धिमानी भनेको संक्रमणबाट जोगिनु हो । यीनै हतियारहरुको प्रयोगलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न देशका सरकारहरुले अहिले लकडाउनलाई प्रमुख हतियार बनाएका छन् । लकडाउन गर्नुमा सरकारको प्रमुख उद्देश्य भनेको आफ्ना नागरिकहरुलाई सुरक्षित राख्नु हो ।

कोरोना भाइरसको संक्रमण भएमा वा सो कोे आशंका भएमा संक्रमितलाई उपचार र अन्यहरुलाई जोगाउने अर्काे ठुलो हतियार भनेको क्वारेन्टाइन र आइसोलेसन नैं हो । कोरोना भाइरस संक्रमणहरुको आशंका भएका व्यक्तिहरुको परिक्षण गरी आवश्यक उपचार गर्नु र अन्य व्यक्तिमा फैलिन नदिनु यसको अन्तिम उपाय हो ।

युद्धका चुनौतिहरु

एकातर्फ महामारीको जोखिम त छँदै त तर अर्काे तर्फ भष्ट्राचार, अनियमितता, संवेदनहिनता लगायतका विषयहरु बाहिर आइरहेका छन् । एउटा प्रसिद्ध उखान छ “युद्ध र प्रेममा हरेक कुरा जायज हुन्छ ।” यसै भनाईको फाइदा उठाउँदै महामारीसँगको युद्धका समयमा नाजायज फाइदा उठाउनेहरु चलखेल गरिरहेका छन् । विदेश र सिमाना रहेमा नागरिकहरुलाई उचित प्रबन्ध गर्नुपर्ने समस्याहरु छन् कतिपय भष्ट्राचार लगायत विदेशीयका नेपालीका समस्याहरु देखिइसकेका छन् । एकातर्फ कोरोना भाइरसको संक्रमणको जोखिमसँगै देशकैं अर्थव्यवस्था कमजोर हुने शंसय त छँदैछ भने अर्काेतर्फ आफ्नो पोल्टा भर्ने, फाइदा लिने, सञ्चय गर्ने, बजारमा सामाग्रीहरुको अभाव गरि महंगी बढाउने, भष्ट्राचार गर्नेहरुको खतरा छ ।

कोरोना भाइरसका कारण देश लकडाउनमा गएको लामो समय भइसकेको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गरी लकडाउन लम्बिन सक्ने अवस्था सिर्जना हुन सक्दछ त्यसैले यसबाट थप राजनीतिक तथा सामाजिक असरहरु पर्न सक्ने देखिन्छ । लकडाउनका कारण रोगले भन्दा भोकले मर्ने मानिसहरुको संख्या बढ्नसक्ने जोखिम छ । कतिपय दैनिक ज्याला र मजदुरी गरेर साँझ बिहानको जोहो गर्ने मानिसहरु पनि छन् । कतिपय मानिससँग पैशा भएता पनि बजारमा अभावका कारण खान नपाउने समस्याहरु बढ्दै गइरहेका छन् । त्यसैले यस विषम परिस्थितिमा जनता विद्रोह हुन सक्ने खतरालाई पनि समयका रुपमा बुझ्नु जरुरी रहेको छ । रोग भन्दा भोक प्यारो हुने अवस्था सिर्जना भयो भने यसले भयावह परिस्थिति खडा गर्न सक्नेछ ।

महामारीको समयमा निजी अस्पतालहरु र क्लिनिकहरुले कोरोना संक्रमणको त्रासका कारण आधारभुत स्वास्थ्य सेवा समेत नदिई कतिपय बिरामीहरु मृत्युवरण गर्नुपरेका समाचारहरु दिनानुदिन समाचार माध्यममा आइरहेका छन् त्यसैले जुनसुकै प्रकारका बिरामीहरु प्रतिको संवेदनशीलता देखाउनु जरुरी छ । कोरोना भाइरसको चस्माबाट हेर्दै प्रत्येक विरामीलाई उपचार नैं नगरी फर्काइदिँदा महामारीका समयमा आफ्नो जिम्मेवारीबाट पन्छिएर श्वास्थ्यको क्षेत्रमा नाफा र घाटाको हिसाब गरी बसिरहेका स्वास्थ्य संस्थाहरुको बारेमा बहस गर्नु आवश्यक छ ।

भोलिको दिनमा कोरोना भाइरसको संक्रमण यसरी सुरक्षित भएमा नफैलिएला तर यदी कथंकदाचित फैलियो भने त्यस अवस्थामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुलाई समाजले हेर्ने दृष्ट्रिकोण बदलिन सक्ने सम्भावना रहेको छ । कोरोना संक्रमितहरुसँग गरिने व्यवहारहरु बारे र समाजमा बढ्दै जाने सामाजिक दुरि कतै पछि सम्मका लागि जोखिम त हुन सक्दैन यसबारे बिचार पु¥याउनु आवश्यक छ । 

सरकारको भूमिका

हरेक देशले आफ्ना नागरिकहरुलाई सुरक्षित राख्नु सरकारको कर्तव्य हो । महामारीको यस महायुद्धमा सक्रिय भएर सरकार लाग्नु त छँदैछ अर्काेतर्फ आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि लागिरहेका ती व्यक्ति वा समुहहरुलाई समेत परास्त गर्दै भष्ट्राचार र अनियमितालाई रोक्दै अगाडि बढ्नु पर्ने विषयमा गम्भिर हुुन जरुरी छ ।  सरकारले नेतृत्व लिएर नियमनकारी भूमिका खेल्दै सोको आवश्यक अनुगमन गर्नु आवश्यक रहेको छ । सर्वसाधारणहरुको उपचार नगर्ने अस्पताल, बजारमा अभाव सिर्जना गर्दै महंगी बढाउने ब्यापारी, भष्ट्राचारी, कालोबजारीहरुलाई कारवाही गर्दै, आफ्ना नागरिकहरुको सुरक्षा गर्दै अगाडि बढेमा सक्षम सरकारको उदाहरण प्रस्तुत हुनेछ अन्यथा इतिहासले धिक्कार्नेछ । सरकार समय आउँदछ पर्खदैन, यो समय नागरिकको सेवा गर्ने समय हो, नागरिकहरुलाई आफ्नो देश र सरकारप्रति आफ्नोपनको आभाष दिलाउने समय आएको छ ।

लकडाउन नागरिकका लागि हो त्यसैले सरकारले यो हेक्का राख्नु जरुरी हुन्छ की नागरिकहरु घरभित्र बसेका छन्, कतिको जागिर खोसिएको छ, दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने श्रमिकहरुको चुलो बले÷नबलेको ख्याल राख्दै उनीहरुको व्यवस्थापन गरिदिनु सरकारको परम कर्तव्य हो ।  विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित तबरले आफ्नो देशमा फर्काइरहेका छन् तर नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरि अर्काे देशमा नैं क्वारेन्टाइनमा व्यवस्था मिलाउनु कत्तिको न्यायसंगत हुन्छ त्यो बारेमा विचार गर्नु आवश्यक छ । विदेशमा र सिमानामा रहेका आफ्ना नागरिकहरुको बारेमा विचार नपुर्याउँदा यसले भोलि आफ्नै देश र सरकारप्रतिको विश्वास गुम्ने जोखिम र सरकारको जनतासँगको दुरि बढ्न् सम्भावना एकातर्फ छँदै छ भने यसले नागरिकको अधिकार हनन हुन सक्ने तर्फ पनि ध्यान दिनु आवश्यक छ ।

कोरोना भाइरसबाट संक्रमित र आशंका गरिएका व्यक्तिहरुका लागि सुरक्षित क्वारेन्टाइन उपलब्ध गराउने र क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई आवश्यक सुविधाको वातावरण उपलब्ध गराउनु सरकारको नागरिकप्रतिको कर्तव्य हो । क्वारेन्टाइनमा बस्नुपर्ने मानसिक त्रासबाट समेत मुक्त गराउन जरुरी छ । कोरोना भाइरस संक्रमणहरुको आशंका भएका व्यक्तिहरुको परिक्षण गरी आवश्यक उपचार गर्नु र अन्य व्यक्तिमा फैलिन नदिनु यसको अन्तिम उपाय हो जुन सरकारको सबैभन्दा मुख्य काम र कर्तव्य हो । हालसम्म १५ सय जना जत्तिको मात्र कोरोना परिक्षण हुन एकदमै नराम्रो पक्ष हो, यसरी कोरोना परिक्षण गरिने हो भने संक्रमित आशंका गरिएका व्यक्तिहरुको मात्रै परिक्षण गर्नका लागि वर्षाै लाग्ने देखिन्छ त्यसैले सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।

अन्तमा, हाम्रो समाजमा चर्चित उखान छ “विपत्ती बाजा बजाएर आउँदैन ।” यसैले यो महामारी पनि बाजा बनाएर वा पूर्व सूचना दिएर आएको होइन । यो मानव जातिमा आकस्मिक रुपमा आइलागेको विपत्ती हो र यो महायुद्ध सरकारले सम्पूर्ण नागरिकको साथमा लिई अगाडि बढ्नु आवश्यक छ । रोगले धनी, गरिब, आफ्ना र पराई कसैलाई पनि छोड्दैन । यस महायुद्धमा आफू पनि सुरक्षित रही स्वास्थ्यकर्मीहरुले बिरामीहरुको उपचार गर्नु, सुरक्षाकर्मीहरुले सरकारका निर्देशनहरुलाई कार्यान्वयनका लागि सहयोग गर्नु, अन्य अत्यावश्यक सेवाका कर्मचारीहरुले आवश्यक सुविधा प्रदान गर्नु, सूचनामाध्यमहरुले जनचेतना अभिवृद्धिमा सहयोग पुर्याउनु र प्रत्येक नागरिकहरुले लकडाउनका समयमा घरमा बसेर सहयोग गरिदिनु आवश्यक छ, जसले भोलिको बिहानीमा हामी सबै सुरक्षित हुनेछौं ।

सरकारले प्रभावकारी ढंगले कार्य गर्दै जाओस । नागकिरकहरुले आत्मविश्वासका साथ संयमित भएर, नआत्तिएर, सजग र सर्तक भएर घरभित्र बसेर यस महायुद्धमा जीत हासिल गर्नु छ, सबै मिलेर ।

दीपक बोहरा
आलिताल ४, डडेल्धुरा