छाउः गोठ होइन मानसिकता भत्काऊ !


लेखापढी      ३ चैत्र २०७६, सोमबार ०७:१०

छाउः गोठ होइन मानसिकता भत्काऊ !

छाउ भन्नाले सामान्य भाषामा रजस्वला वा महिनावारी हो । यो उमेर पुगेका महिलामा हुने एक प्राकृतिक नियम÷प्रक्रिया हो । महिला वा किशोरी महिनावारी हुँदा नेपालको अद्यिकांश भू—भागमा अशुद्ध भनी नछुने वा बार्ने प्रचलन रहेको छ । महिनावारी भएको अवधिमा अपवित्र हुने, बहिस्कृत गर्ने र छाउगोठमा राख्ने कुप्रथा नैं छाउपडी प्रथा हो । यस प्रथालाई छुई, छाउ वा बाहिर हुनु, छाउपडी, छाउकुल्ला र छाउकुडी भन्ने प्रचलन रहेको पाइन्छ ।

https://campaigns.savethechildren.net/sites/campaigns.savethechildren.net/files/styles/large/public/chhau2.jpg?itok=JwT8juHz
Photo credit by : ampaigns.savethechildren.net

विशेषगरी नेपालको मध्य र सुदूरपश्चिम क्षेत्रमा छाउपडी प्रथा एक यस्तो प्रथाको रुपमा रहेको छ जसले महिनावारीलाई अशुद्ध मानी घरभन्दा टाढा सानो छाउगोठमा राखिने परम्परा रहेको छ । पहिलो पटक महिनावारी भएको बखत कम्तीमा १४ दिन र नियमित महिनावारी भएको समयमा ५ दिनसम्म छाउ गोठमा राख्ने गरिन्छ । त्यसैगरी सुत्केरी भएको बेला न्वारान नहुञ्जेल (साधारणतयाः७ दिनदेखि ११ दिनसम्म) अलग बसेर बार्नु पर्ने चलन छ । छाउ हुँदा सूर्य समेत हेर्न नहुने भनी महिलाहरूलाई अँध्यारो कोठामा राखिने गरिन्छ । महिनावारी भएको समयमा महिलालाई अस्पश्र्य (अछुत), फोहोरी, अपवित्र तथा अपशकुनको रुपमा व्यवहार गर्ने गरिन्छ । यस प्रथालाई हिन्दू धर्ममा पाप र पुण्यसँग जोडेर हेरिन्छ ।

महिनावारी एक जैविक तथा प्राकृतिक प्रक्रिया हुँदाहुँदै पनि पिृतृसतात्मक समाजमा पाप र पुण्यको आडमा धार्मिक तथा साँस्कृतिक मूल्य र मान्यतासँग गाँसेर महिलामाथि विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरिने भएकोले यो एक कुप्रथा भएको छ ।


छाउगोठमा रहँदा महिला र किशोरीहरू सर्पले टोकेर, जंगली जनावरको आक्रमणबाट, शुद्ध हावाको अभावबाट निस्सासिएर, आगलागी भएर अकालमा मृत्यु हुने गरेको पाइन्छ । मादक पदार्थ सेवन गरेका वा अन्य पुरुषहरूबाट समेत महिला तथा किशोरीहरूमाथि बलात्कार, यौन शोषण, यौनजन्य दुव्र्यवहार जस्ता घटनाहरू पनि बारम्बार समाजमा घट्ने गरेको पाइन्छ ।

महिनावारी (छाउपडी) हुने महिलाको नियमित प्रकृया हो जसले गर्भधारण प्रक्रियालाई चुस्तदुरुस्त बनाइरहन्छ । यो जैविकीय परिवर्तन भएकाले महिलाको पिट्यूटरी ग्ल्याण्ड (एष्तगतबचथ नबिलम) ले उमेर बढ्दै गएपछि उत्पादन हुने पदार्थले महिलाको अण्डासयलाई अण्डा उत्पादन गर्न प्रेरित गर्दछ । यो अण्डा परिपक्व भएपछि महिनावारी हुने गर्दछ । किशोरावस्थामा प्रवेश गरेका महिलाहरूमा जब महिनावारी वा मासिक श्राव सुरु हुन्छ । मासिक श्राव सुरु भइसकेपश्चात कुनै पनि महिला सन्ता जन्माउन सक्षम भएको मानिन्छ । महिनावारी अण्डाशयको क्रियाकलापले गर्दा हुने पाठेघरको कार्य हो । पाठेघरभित्र रहेका रक्त तथा अन्य ग्रन्थि श्रावहरू अण्ड निसेचित नभएको अवस्थामा शरीर बाहिर उत्सर्जित हुने गर्दछ । यसैलाई मासिक श्राव वा महिनावारी, छाऊ भएको भनिन्छ ।

नेपाल सरकारले छाउपडी प्रथालाई गैरकानूनी र सामाजिक अपराध भनी घोषणा गरिसकेको छ । सर्वोच्च अदालतले २०६२ सालमा नै दिलबहादुर विश्वकर्मा विरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेत भएको मुद्धामा नेपाल सरकारलाई छाउपडी प्रथा उन्मूलनका लागि निर्देशनात्मक आदेश जारी गरिसकेको छ । तथापि हालसम्म यो कुप्रथा विद्यमान छ ।

आजभोलि दैनिकजसो पत्रपत्रिकामा छाउगोठ भत्काइएको समाचारहरु सुन्न र देख्न पाइन्छ । कतिपय स्थानमा जनप्रतिनिधि, प्रहरी, सामाजिक अभियन्ताहरु छाउगोठहरु भत्काइरहेको समाचार पनि प्रकाशन भइरहेको छ । छाउपडी कुप्रथा रोक्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील रुपमा लागिरहेका छन् । छाउगोठ भत्काउने अभियान नैं सुरु भइरहेको छ । छाउगोठमा बस्ने र राख्ने व्यक्तिहरुलाई कारवाही गर्ने भनि सूचनाहरु सम्प्रेषण भइरहेका छन् र कतिपय ठाउँमा कारवाही समेत भइरहेको छ । गृह मन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिइरहेको छ । सरकारले छाउगोठ मान्ने र मान्न वाध्य गर्नेहरुलाई राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट बन्चित गरिने वा रोक्का गर्न समेत निर्देशन दिइसकेको छ । समाजका किशोर किसोरीहरु पनि छाउगोठहरु भत्काउन लागिरहेका छन् । भने अर्काेतर्फ कतिपय महिलाहरु थाहा हुँदा हुँदै, छाउबारे जानकारी हुँदा हुँदै पनि छाउगोठमा बस्न वाध्य छन् । दिनभरी आफै छाउगोठ भत्काउने, छाउपडी प्रथाबारे जानकारी गराउने र साँझ छाउगोठमा गइरहेका छन् ।

तर, किन रोकिएको छैनन् त छाउपडी कुप्रथा ? किन छाउपडी प्रथा अझै हाम्रो समाजमा विद्यमान छ ? किन छाउपडी प्रथा मानिरहेका छन् त हाम्रो समाजका महिला ? किन छाउपडी प्रथा रोक्नका लागि गरिएका गतिविधिहरु प्रभावकारी हुन सकेका छैनन् ? किन आजको आधुनिक समाजमा पनि छाउपडी जस्तो जघन्य अपराध हाम्रो समाजमा रहेका छन ? छाउपडी प्रथा रोक्न कस्ता प्रकारका उपायहरुले रोक्न सकिएला ? कीन शिक्षीत जानकारी भएका महिलाहरु पनि यसरी छाउगोठमा बस्न लागिरहेका छन ? यी लगायत यावत प्रश्नहरुको उत्तर खोजिएमा पक्कै पनि छाउपडी प्रथालाई निर्मूल पार्न सकिएला अन्यथा यसले झन विकराल रुप लिन पनि सक्छ वा यसमा गरिने राज्यका संयन्त्र लगायत लगानी माटोमा मिल्ने खतरा देखिएको छ ।

https://campaigns.savethechildren.net/blogs/caitlinsmith/parliament-nepal-passes-bill-outlaw-chhaupadi
Photo credit by : ampaigns.savethechildren.net

छाउपडी कुप्रथालाई जसरी सामाजिक सञ्जाल र समाचार माध्यमहरुले प्रचार प्रसार गरिरहेका छन् यो एक लज्जास्पद विषय हो । छाउपडी प्रथा एकदमै नराम्रो हो तर यहाँ तीललाई पहाड बनाएर समाचार सम्प्रेषण हुन दुःखद् पक्ष हो जसका कारण जनमानस र समाजमा नराम्रो प्रभाव परिरहेको छ । हामी यहाँ छाउपडी प्रथा कसरी बस्यो होला भन्ने विषयमा गम्भिर हुनु जरुरी छ । छाउपडीका बारेमा जसरी सरकार माथापिच्छे गरेर लागिरहेको छ यसले यसको निवारण हुन सक्ला जस्तो लाग्दैन किनभने टाउकोमा दुखिरहेको बिरामीलाई खुट्टामा मल्हम लगाएर ठीक हुँदैन् । धेरै जसो गैरसरकारी संस्थाहरु समेत विभिन्न दातृनिकायहरुको अर्थलाभका लागि यसका पछाडि लागिरहेका स्पष्ट देखिएको छ । कतिपय सामाजिक अभियन्ताहरु पनि सामाजिक उत्तरदायित्व बहन गर्न भन्दा पनि प्रचारप्रसार र आफुलाई चिनाउन, प्रख्यात हुन र सामाजिक काम गरेको जस्तो देखाउन लागिरहेका छन् । उनीहरुको व्यवहारमा परिवर्तन भन्दा पनि बोलाई र अरुलाई देखाउनमा परिवर्तन गर्न लागिरहेका छन् ।

आज हामी यहाँ छाउपडी प्रथाका मूल कारक तत्वहरुबारे विवेचना गर्नेछौं । हामीले छाउपडी प्रथा हटाउनका लागि यसको जरासमेत उखेल्नु जरुरी छ, जसका लागि केही समय आवश्यक हुन्छ । यससमयमा हामीले छाउपडी प्रथालाई निर्मुल पार्न नसकेपनि यसबाट बच्ने उपायहरु अपनाउनु जरुरी हुन्छ ।
छाउपडीको प्रमुख कारक पुरातनवादी रुढीवादी सोच हो । छाउपडीको बेला छाउगोठमा नबसी धामी झाँक्री, पुरोहित तथा धार्मिक अख्तियारवालाहरूले दिएको हुकुमको पालना नगरेमा कुल देवता रिसाउने, मानिस बिरामी पर्ने, गाउँ घरमा अनिष्ट हुने र परिवारका सदस्यको मृत्यु हुने सम्मको नकारात्मक सोचाइ रहेको देखिन्छ । सामाजिक र सांस्कृतिकरुपमा छाउप्रतिको अन्धविश्वास कायम रहुञ्जेल छाउपडीलाई निमिट्यान्न पार्न सकिदैन् ।

छाउपडी प्रथा हिजो अस्तिदेखि सुरु भएको र गराइएको प्रचलन होइन् । यसको लामो इतिहास छ । जसरी हाम्रो देश अझै पितृसतात्मक सोचबाट ग्रस्त छ यसै गरी यो प्रथा पनि लामो समयदेखि चलिआएको हो । मानिसहरुको सोचमा छाउपडी प्रथा यसरी गढेको छ की यो सामान्य थेरापीले यसबाट सहजै निकाल्न सकिन्छ । यो वर्षाैदेखि गाडिएको किला हो जसमा नराम्रोसँग खिया लागेको छ र साधारण तवरबाट मानिसहरुको यसबारेको सोच रुपमान्तरण गर्न सकिदैन ।

छाउपडी प्रथाको अर्का मूल कारक तत्व पहाडमा पुराना परम्परागत प्रकारका घरहरु हुन । जसका कारण छाउ भएका महिलाहरु घरबाहिर बस्नु परेको अवस्था छ । नेपालका सुदूरपश्चिम र मध्यपश्चिममा प्रायःजसो एक वा दुई तला भएका, कोठाहरु र झ्यालहरु नभएका घरहरु हुन्छन् । घरहरुको निर्माण जाडोबाट बच्नका लागि यस प्रकारका घरहरु बनाइएका हुन्छन् । परिवारका सदस्यहरु प्रायःजसो एउटै ठाउमा सुत्ने प्रचलन रही आएको थियो । छाउमा महिलाहरु मासिक श्राव हुने भएकोले फोहोर हुने र अन्य परिवारका सदस्यहरुमा समेत रोगबाट संक्रमीत हुने डरले महिलाहरुलाई छाउ भएको समयमा घरभन्दा टाढा गोठमा राख्ने प्रचलन रही आएको छ ।

छाउपडीको अर्काे कारण छाउ भएका महिलाहरुका लागि सरसफाईका लागि उचित प्रबन्ध नहुनु पनि हो । खानेपानी लगायत नुहाउने पानिको समेत समस्या रहेको ठाउँमा महिनावारी भएका महिलाहरुलाई सफासुघ्घर रहनका लागि प्रयाप्त पानि तथा सफा गर्ने ठाउँको अभाव रहेको हुन्छ जसका कारण उनीहरुलाई घरबाट टाढा राखिएको हुन्छ । साथै महिनावारीका समयमा प्रयोग गरिने प्याडको उपलब्धता नहुनु पनि अर्काे समस्या हो । महिनावारी भएका महिलाहरुलाई विद्यालयमा सहज वातावरण नहुनु, विद्यालयमा महिलाहरुका लागि सौचालय र प्याडहरुको राम्रो व्यवस्था नहुनु नैं महिनावारीका समयमा छाउपडी गोठमा बस्नु बाध्यता हो ।

छाउपढी कुप्रथालाई हटाउनका लागि वा निर्र्मूल पार्नका लागि माथि उल्लेखित कारणहरुमा राम्रो अध्ययन गरी यसलाई हटाउन सकिन्छ । छाउपढी प्रथालाई हटाउन छाउ गोठ होइन छाउ मानसिकतालाई हटाउनु जरुरी छ । छाउ गोठहरु भत्काएमा फेरी बनाइनेछन् तर छाउपडी प्रथाको विषयमा यदी मानिसको सोच परिवर्तन भएमा छाउगोढहरु भत्काउनु जरुरी पनि छैन आफै भत्किनेछन् छाउगोठहरु ।

हामीले छाउपढी प्रथालाई एकैपटक सिनित्तै पारेर सफा गर्न त सक्दैनौ किनभने यसको समाजका लामो बन्धन छ तर यसलाई विस्तारै विस्तारै हाम्रो घर, समाज र विचारबाट हटाउन सकिन्छ । सबैभन्दा पहिले ती छाउपडी प्रथा रहेको ठाउमा जनचेतना अभिवृद्धि गरिनु पर्दछ । त्यस भेगमा निर्माण गरिएका र गरिने घरहरुको संरचनामा फेरबदल गरिदिनु पर्दछ । प्रत्येक गाउँ, विद्यालय, समाजमा सरसफाईको उचित बन्दोवस्त गरिनु पर्दछ ।

सांस्कतिक पुरातनवादी रुपमा सोच परिवर्तन गर्न नसकिने ठाउँमा तत्कालका लागि सुरक्षित तवर सुविधासम्पन्न छाउगोठहरुको निर्माण गरिदिनु नै राम्रो उपाय हो । विस्तारै विस्तारै समुदायका मानिसहरुको छाउपडी प्रतिको नकारात्मक सोच परिवर्तन भएमा कसैले जवरजस्ती छाउगोठहरु भत्काउनु आवश्यक रहनेछैन, आफै छाउगोठहरु हटनेछन् । धामी, झाँक्रिहरुलाई छाउप्रतिको अवधारणालाई विस्तारै परिवर्तन गर्दै लगेमा मानिसमा सकारात्क सोचहरुको विकास हुँदै जानेछ । जवरजस्ती छाउगोठहरु भत्काएर भन्दा पनि शिक्षा, खानेपानी, सरसफाई, भौतिक पूर्वाधार, जनचेतनाका माध्यमद्वारा छाउपडीजस्तो कुप्रथाको एकदिन अवश्य अन्त हुनेछ ।

छाउपढी निर्देशिका

दीपक बाेहरा